असोज १६, पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा अमनचयन कायम गर्न र नागरिक-प्रहरी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन वडा प्रहरी कार्यालय बिर्ता र त्यहाँका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम सुवेदीले खेलिरहेको भूमिकाको स्थानीय स्तरमा उच्च प्रशंसा भइरहेको छ। आफ्नो जिम्मेवारी सम्हालेदेखि नै उत्कृष्ट कार्यसम्पादन गर्दै आएका इन्स्पेक्टर सुवेदीको नेतृत्वमा बिर्ता प्रहरीले अपराध नियन्त्रण र कानुनी कार्यान्वयनमा अर्को एउटा ठूलो सफलता हासिल गरेको छ ।

१९ वर्ष कैद र १ लाख ९० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, ठगी तथा संगठित अपराध मुद्दाहरूमा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीहरूलाई बिर्ता प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगन्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २९ को विर नारायण चौरसिया र सोही स्थान बस्ने वर्ष २४ को राज नारायण चौरसिया रहेका छन् । निजहरूलाई ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र जनही रु. १ लाख ९० हजार जरिवाना तोकिएको थियो । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८३ असोज १५ गते दिउँसो १६:३० बजेको समयमा वीरगन्ज म.न.पा. वडा नं. १६ इनर्वास्थित लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको छ । यो ऐतिहासिक सफलताले समाजमा कानुनी राजको बलियो अनुभूति गराएको भन्दै वीरगन्जवासीले बिर्ता प्रहरी र इन्स्पेक्टर सुवेदीको निकै सरहाना गरेका छन् ।

कार्यक्षेत्रभन्दा बाहिर पुगेर सामाजिक सद्भाव र विश्वास अभिवृद्धि

इन्स्पेक्टर विक्रम सुवेदीको कार्यशैलीको सबैभन्दा सबल पक्ष भनेको परम्परागत प्रहरी जस्तो केवल अपराधी पक्राउ गर्नेमा मात्र सीमित नरही नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गर्नु हो । उनले आफ्नो दैनिक कार्यक्षेत्रभन्दा बाहिर गएर पनि समाजमा आपसी सद्भाव, भाइचारा र प्रहरीप्रतिको जनविश्वासलाई बलियो बनाउन निरन्तर प्रयास गरिरहेका छन् ।

उनले वीरगन्ज क्षेत्रका विभिन्न विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसन, साइबर अपराध र सामाजिक सचेतना सम्बन्धी प्रशिक्षण दिँदै आएका छन् । यसैगरी वडा-वडामा पुगेर स्थानीय भद्रभलादमी, बुद्धिजीवी, र समाजका अगुवाहरूसँग नियमित अन्तरक्रिया गर्दै समुदायमा देखिने विवादहरूलाई संवादको माध्यमबाट समाधान गर्न महत्त्वपूर्ण समन्वयकारी भूमिका खेलिरहेका छन् ।

वीरगन्जवासीको जनप्रिय प्रहरी अधिकारी

प्रहरी संगठनको मूल नारा "सत्य सेवा सुरक्षणम्" लाई व्यवहारमै उतारेका सुवेदीले समाजमा एउटा छुट्टै र जनप्रिय पहिचान बनाउन सफल भएका छन् । जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने, पीडितको कुरा ध्यानपूर्वक सुन्ने र २४ सै घण्टा नागरिकको सुरक्षामा खटिने उनको स्वभावले गर्दा नै आज वडा प्रहरी कार्यालय बिर्ता आम नागरिकको भरोसाको केन्द्र बनेको छ ।

अपराध र अपराधी विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने र शान्तिप्रिय नागरिकका लागि सहयोगी सारथी बन्ने इन्स्पेक्टर विक्रम सुवेदी र उनको टोलीको यो निरन्तरको सक्रियताले वीरगन्जको शान्ति सुरक्षा थप मजबुत बन्दै गएको स्थानीय बासिन्दाहरूको भनाइ छ ।