वीरगञ्ज महानगरपालिका–१६, इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा सञ्चालन भइरहेको भनिएको अनैतिक गतिविधिविरुद्ध वडा प्रहरी कार्यालय वीर्ताले सञ्चालन गरेको विशेष अपरेशन सफल भएको छ । प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले छापा मारेर होटल सञ्चालकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेकामध्ये सात जना महिला र पाँच जना पुरुष रहेका छन् । उनीहरूमध्ये एक जना ४० वर्षीया होटल सञ्चालक महिला हुन् भने नौ जना भारतीय नागरिक र तीन जना नेपाली महिला रहेका छन् । अर्को होटलका सञ्चालक भने प्रहरी कारबाहीको क्रममा फरार भएका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार भन्सार क्षेत्रमा रहेका केही होटलमा अनैतिक गतिविधि सञ्चालन भइरहेको भन्ने निरन्तर गुनासो प्राप्त भएपछि प्रहरीले गोप्य निगरानी सुरु गरेको थियो । पर्याप्त प्रमाण संकलन भएपछि योजनाबद्ध रूपमा छापा मारिएको र त्यसपछि सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूको उमेर १९ देखि ४० वर्षसम्म रहेको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ भने प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यस कारबाहीले वडा प्रहरी कार्यालय वीर्ताको अपराध नियन्त्रणप्रतिको सक्रियता, संवेदनशीलता र व्यावसायिक दक्षतालाई स्पष्ट रूपमा उजागर गरेको छ । विशेषगरी प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गरिएको प्रभावकारी निगरानी, सूचनाको सूक्ष्म विश्लेषण तथा योजनाबद्ध अपरेशनका कारण समाजमा विकृति फैलाउने गतिविधिविरुद्ध ठोस कदम चाल्न सफलता मिलेको स्थानीयवासीले समेत बताएका छन् ।

सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक मर्यादा कायम राख्न वडा प्रहरी कार्यालय वीर्ताले खेलेको भूमिका प्रशंसनीय रहेको छ । यस्ता अवैध गतिविधिविरुद्ध कानुनी कारबाहीलाई निरन्तरता दिँदै अपराधमुक्त समाज निर्माणमा प्रहरीको सक्रियता अझ सशक्त हुने अपेक्षा गरिएको छ ।