वीरगंज, साउन २१ गते – सामूदायिक सेवा केन्द्र छप्कैया, वडा नं. २ को आयोजनामा र वीरगंज सामूदायिक आँखा केन्द्रको सहयोगमा भारत–नेपाल सिमानामा अवस्थित भारतको ग्राम महदेवामा एकदिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका सीमावर्ती बस्तीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा कुल २०२ जना बिरामीको आँखा परीक्षण गरिएको थियो, जसमध्ये ७५ जनामा मोतियाबिन्द देखा परेको छ । मोतियाबिन्द देखिएका बिरामीको लेन्ससहितको निःशुल्क शल्यक्रिया (अपरेशन) गरिने र अन्य बिरामीहरूलाई आवश्यक औषधी तथा चश्मामा ५० प्रतिशत छुट दिइने वीरगंज सामूदायिक आँखा केन्द्रका प्रमुख डा. महेश सिंह धामीले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन समारोहमा सामूदायिक सेवा केन्द्र छप्कैया, वडा नं. २ का अध्यक्ष हाजी ग्यासुदिन मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी विभव सिंहले यस किसिमका शिविरहरूले भारत र नेपालका सीमावर्ती समुदायहरूलाई प्रत्यक्ष रूपमा लाभ दिने भएकाले यस्तो कार्यलाई नियमित रूपमा अगाडि बढाउनु आवश्यक रहेको बताए । उहाँले भने, “आजको युगमा आँखाको उपचार महंगो बन्दै गइरहेको छ । यस्तो अवस्थामा सीमावर्ती गरिब जनताका लागि निःशुल्क शिविर हुनु निकै सराहनीय छ । वीरगंज सामूदायिक आँखा केन्द्र र सामूदायिक सेवा केन्द्र छप्कैयाले दिएको यो योगदान अमूल्य छ ।”

कार्यक्रमका विशिष्ठ अतिथिहरूमा रहेका पूर्व सरपञ्च निरहसन ठकुराई, महदेवा एसएसबीका इन्चार्ज जोनप्रकाश टड्डु, एएसआई कृपाराम शर्मा, एसएसबीका विरेन्द्र सिंह पवार, समाजसेवी विवेक सिंह, समाजसेवी गणेश झा लगायतले समेत यस्तो जनस्वास्थ्यमुखी कार्यको प्रशंसा गर्दै यसले भारत नेपाल सीमामा आपसी सहयोग, सद्भाव र सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उनीहरूले स्वास्थ्य जस्ता आधारभूत सेवामा पहुँच नपुगेका सीमावर्ती नागरिकहरूलाई लक्षित गर्दै भविष्यमा पनि यस्ता सेवा निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सामूदायिक सेवा केन्द्र छप्कैया, वडा नं. २ का उपाध्यक्ष मो. अब्दुलहक, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह, पत्रकार नविन गिरी (ग्राउण्ड रिपोर्टर २४) लगायत स्थानिय अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी बिरामी तथा स्थानिय नागरिकहरूले यस्तो निःशुल्क शिविरबाट आफूहरू अत्यन्त लाभान्वित भएको प्रतिक्रिया दिएका छन् ।