फाल्गुन - २४, बीरगञ्ज (पर्सा)  एन–प्याप्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको टी–२० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आइडियल एकेडेमी विजयी भएको छ ।

आदर्शनगर क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा ग्रीनल्यान्ड स्कुललाई २ विकेटले पराजित गर्दै आइडियल एकेडेमीले उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ग्रीनल्यान्ड स्कुलले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाउँदै १२५ रन बनाएको थियो । ग्रीनल्यान्डका सोहेब शेखले २३ बलमा २२ रन तथा आकिब आलमले ३९ बलमा २२ रनको योगदान दिएका थिए । आइडियल एकेडेमीका लागि रेहान अलीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने साजिद ठाकुराइले ४ ओभरमा १६ रन दिएर २ विकेट हात पारे ।

१२६ रनको लक्ष्य पछ्याएको आइडियल एकेडेमीले १८ ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाउँदै जित हात पार्यो । आइडियलका मासुम सिद्दिकीले ३१ बलमा ३९ रनको उत्कृष्ट पारी खेले भने साजिद ठाकुराइले २७ बलमा ३४ रन बनाए। ग्रीनल्यान्ड स्कुलका सञ्जय बजिमा र सोहेब शेखले समान २/२ विकेट लिए ।

उत्कृष्ट प्रदर्शन गर्दै ३९ रन बनाउनुका साथै १ विकेट समेत लिएका आइडियल एकेडेमीका मासुम सिद्दिकी ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।

प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो, जहाँ अन्तिम समयमा आइडियल एकेडेमीले लक्ष्य भेट्टाउँदै उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।