वीरगन्ज, २६ असार।
वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तार अभियानका क्रममा घर भत्काउँदा निस्किएको मलबा समयमै व्यवस्थापन हुन नसक्दा मुख्य नालाहरू जाम भएका छन् । यही कारण शुक्रबार राति परेको अविरल वर्षापछि सहरका विभिन्न चोक तथा बस्तीहरू जलमग्न बनेका छन् ।
मुडली चोक, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोक लगायतका क्षेत्रमा वर्षाको पानी निकास हुन नसकेपछि सडकहरू डुबानमा परेका छन् । सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै स्थानीय बासिन्दाले दैनिक आवतजावतमा ठूलो सास्ती बेहोर्नुपरेको छ ।
समस्याको गम्भीरतालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले शुक्रबार बिहानैदेखि पानी निकासका लागि 'एक्सन टिम' परिचालन गरेको छ । एक्सन टिमका संयोजक सरफुदिन मियाको नेतृत्वमा प्राविधिक तथा सफाइकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएर नाला सफाइ तथा पानी निकास खुलाउने कार्यमा जुटेको छ ।
महानगरपालिकाले तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर तथा एक दर्जनभन्दा बढी सफाइकर्मी परिचालन गरी नालामा थुप्रिएको ढुङ्गा, इँटा, माटो तथा अन्य भग्नावशेष हटाउने काम तीव्र रूपमा अघि बढाएको जनाएको छ ।
एक्सन टिमका संयोजक सरफुदिन मियाका अनुसार सडक विस्तारका क्रममा घरहरू भत्काउँदा निस्किएको मलबा नालामा थुप्रिएर पानीको बहाव अवरुद्ध भएकाले डुबानको समस्या उत्पन्न भएको हो । उहाँले अधिकांश नालाहरूमा मलबा भरिएकाले राति परेको वर्षाको पानी सहज रूपमा बग्न नसकेको बताउँदै नागरिकलाई छिटो राहत पुर्याउन आफ्नो टोली निरन्तर खटिरहेको जानकारी दिनुभयो ।
यता सडक विस्तारका क्रममा सडक किनारमा थुप्रिएको मलबा तथा अव्यवस्थित रूपमा छरिएका विद्युत् र इन्टरनेटका तारका कारण वीरगन्जको शहरी व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ । नाला जाम, हिलो र डुबानका कारण स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुहरूले दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् ।
महानगरपालिकाले भने प्रभावित क्षेत्रका नालाहरू तत्काल सफा गरी पानीको सहज निकास सुनिश्चित गर्न आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको जनाएको छ । साथै सडक विस्तारसँगै उत्पन्न भएका मलबा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सहरलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउने प्रयास जारी रहेको महानगरको भनाइ छ ।