वीरगन्ज साउन 26, भारतको राष्ट्रिय भावना, मातृभूमिप्रतिको सम्मान तथा देशभक्तिको प्रतीकका रूपमा स्थापित ‘वन्दे मातरम्’ रचना भएको १५० वर्ष पूरा भएको अवसरमा भारतको महावाणिज्यदूतावास, वीरगन्जले मंगलबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
वीरगन्जस्थित आर्मी ब्यारेकनजिकको क्लासिक ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा ‘वन्दे मातरम्’को १५० वर्षको गौरवपूर्ण यात्रालाई स्मरण गर्दै यसको ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रप्रेमसँग जोडिएको महत्वबारे चर्चा गरिएको थियो। कार्यक्रममा सामूहिक रूपमा ‘वन्दे मातरम्’ गायन गरिनुका साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा देशभक्तिपूर्ण प्रस्तुति दिएका थिए ।
‘मातृभूमिप्रति आध्यात्मिक एवं देशभक्तिपूर्ण समर्पण’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुल, ज्ञानदा एकेडेमी वीरगन्ज तथा डीएभी आरबी केडिया स्कुलका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक एवं देशभक्तिपूर्ण प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्जका लागि भारतका महावाणिज्यदूत डी. एस. मीनाले ‘वन्दे मातरम्’ केवल एउटा गीत नभई भारतको स्वतन्त्रता आन्दोलन, राष्ट्रिय एकता, मातृभूमिप्रतिको सम्मान र देशभक्तिको भावनासँग जोडिएको अमूल्य धरोहर भएको बताउनुभयो ।
उहाँले ‘वन्दे मातरम्’ रचना भएको १५० वर्ष पूरा हुनु ऐतिहासिक अवसर भएको उल्लेख गर्दै नयाँ पुस्तालाई यसको इतिहास, भावना तथा राष्ट्रप्रतिको समर्पण बुझाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
महावाणिज्यदूत मीनाले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, ज्येष्ठ नागरिक समाजका अध्यक्ष जगदीश शर्मा, नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, रक्सौल लायन्स क्लबका अध्यक्ष बिमल सराफलगायत उद्योगी–व्यवसायी, समाजसेवी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले ‘वन्दे मातरम्’ले बोकेको राष्ट्रप्रेम, राष्ट्रिय एकता तथा मातृभूमिप्रतिको समर्पणको भावनालाई आत्मसात् गर्दै नेपाल–भारतबीचको सदियौँ पुरानो सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण भारतको महावाणिज्यदूतावास, वीरगन्जका कन्सुल मनीष दासले गर्नुभएको थियो। सामूहिक ‘वन्दे मातरम्’ गायन तथा विभिन्न सांस्कृतिक र देशभक्तिपूर्ण प्रस्तुतिसहित कार्यक्रम सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।