काठमाडौं, असार ३१,  काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य र जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम घोषणा गरेको छ । आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरले अब ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने जानकारी दिइन् ।

महानगरद्वारा सञ्चालन गरिने ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ कार्यक्रममार्फत नियमित स्वास्थ्य निगरानी, परामर्श तथा आवश्यक सेवाहरू घरमै उपलब्ध गराइने जनाइएको छ । यसैगरी ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता प्रदान गर्ने व्यवस्था समेत आगामी आर्थिक वर्षदेखि लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । महानगरले सामाजिक सुरक्षा र स्वास्थ्य सेवासँगै स्थानीय विकासलाई पनि प्राथमिकतामा राखेको छ । हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’ लाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित संस्थागत गर्ने नीति पनि सार्वजनिक गरिएको छ ।महानगरका अनुसार प्रत्येक वडाको आवश्यकता, सम्भावना र स्थानीय विशेषतालाई आधार बनाएर नमुना योजनाहरू कार्यान्वयन गरिनेछ । यसबाट वडास्तरमै विकासका उत्कृष्ट अभ्यासहरू स्थापना हुने अपेक्षा गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका नीति तथा कार्यक्रमले ज्येष्ठ नागरिक, अशक्त व्यक्ति, स्वास्थ्य सेवा तथा स्थानीय पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको महानगरपालिकाले जनाएको छ ।