रौतहट साउन-३०,
देवाही गोनाही नगरपालिका–५, टिकुलियास्थित शैल पुत्री कृषि सहकारी संस्था लिमिटेडबाट किसानलाई वितरणका लागि आएको कृषि मल बढी मूल्यमा बिक्री गर्न खोजिएको आरोप लागेको छ ।
स्थानीयवासीका अनुसार शुक्रबार राति करिब १० बजे किसानलाई वितरण गर्नुपर्ने मल अन्यत्र लैजाँदै गरेको अवस्थामा स्थानीयवासीले मलसहित केही व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा बुझाएका थिए । पछि उक्त विषयमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित व्यक्तिहरूलाई गरुडा पठाइएको स्थानीयवासीले बताएका छन् ।
उक्त सहकारी संस्थाका सञ्चालक सचिन्द्र शाह कानु, टिकुलिया वडा नं. ५ निवासी रहेको बताइएको छ । स्थानीयवासीले घटनामा राम जनम राय यादव र राजु शाह लगायतका व्यक्तिहरूको समेत संलग्नता रहेको आरोप लगाएका छन् । यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि तथा सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।
स्थानीय किसानहरूले सञ्चालकले विगतमा समेत किसानका लागि आएको मल नियमित रूपमा वितरण नगरी अन्यत्र लैजाने गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार मल माग्न जाँदा ‘मल छैन’ भनेर फर्काउने तर आफू निकटका व्यक्तिहरूलाई मात्र उपलब्ध गराउने गरिएको गुनासो छ ।
किसानका लागि सरकारले अनुदानमा उपलब्ध गराउने मल किसानसम्म सहज र उचित मूल्यमा पुग्नुपर्नेमा बीचमै अनियमितता तथा कालोबजारी भएको पाइएमा त्यसले प्रत्यक्ष रूपमा किसानलाई मारमा पार्ने स्थानीयवासीको भनाइ छ ।
नयाँ सरकार आएपछि कृषि क्षेत्रमा सुधार र किसानका समस्या समाधान हुने अपेक्षा गरिए पनि मलको अभाव, वितरणमा अनियमितता र कालोबजारीको आरोप दोहोरिनुले किसानमा निराशा बढाएको छ । किसानले उत्पादन लागत घटाउने र सहज रूपमा मल उपलब्ध गराउने सरकारी प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
यस घटनाको सत्यतथ्य तत्काल छानबिन गरी दोषी प्रमाणित हुने जो–कोहीलाई कानुनअनुसार कारबाही गर्न तथा किसानका लागि आएको कृषि मल वास्तविक किसानसम्म पुग्ने व्यवस्था मिलाउन स्थानीयवासीले सम्बन्धित प्रशासन, कृषि कार्यालय तथा सरकारसँग माग गरेका छन् ।
किसानको नाममा आउने अनुदान र कृषि सामग्रीमा हुने सम्भावित कालोबजारीप्रति सरकार गम्भीर बन्न आवश्यक छ। किसानलाई कागजमा मात्र राहत होइन, खेतमा आवश्यक मल र बीउ समयमै उपलब्ध हुने सुनिश्चितता चाहिएको छ ।