वीरगञ्ज, पुष ४ गते विहिबार,

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका र भारतको रक्सौल नाका लामो समयदेखि दुई देशबीचको प्रमुख व्यापारिक र आवतजावतको केन्द्रबिन्दु रहँदै आएको छ । यसअघि दुवै नाका बिहान ६ बजे देखी राति १० बजेसम्म मात्र सञ्चालनमा रहन्थे । तर, हालै दुई पक्षीय सहमति अनुसार, यि नाकाहरु अब बिहान ५ बजे देखी राति ११ बजे सम्म खोल्न सहमति भएको छ ।


सहमति अनुसार नेपाली पक्षले वीरगन्ज नाका बिहान ५ बजे देखी राति ११ बजे सम्म खुला गरिरहेको छ । तर, भारतीय पक्षको कस्टम निर राति १० बजे नै बन्द हुने स्थिति यथावत रहेको छ । यसले गर्दा सामान ढुवानी र यात्रुहरुको आवतजावतमा समस्या उत्पन्न भएको स्थानीय व्यवसायी र यात्रुहरुले गुनासो गरेका छन् ।


व्यापारिक नाकामा दुई पक्षीय सहमति भएपनि व्यावहारिक रूपमा फरक समयसारिणीले दुवै देशका व्यवसायी र सर्वसाधारणलाई कठिनाइ र दुविधा भइरहेको छ। यस विषयमा समाधान खोज्न थप पहल आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।


भारतीय कस्टम कार्यालयको समय थप गरी राति ११ बजे सम्म खोल्न सकेमा दुई देशबीचको व्यापारिक सम्बन्धमा सहजता आउने अपेक्षा गरिएको छ ।