भदौ ०६, वीरगंज,
वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजले अध्ययनदेखि अतिरिक्त क्रियाकलापसम्म उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । विद्यार्थीको मेहनत, प्रतिभा र सफलतालाई संस्थागत रूपमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो ।
कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष हरि गौतम, सल्लाहकार जयप्रकाश खेतान, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बीबीएस परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्न सफल अञ्जली कुमारी गुप्तालाई विशेष सम्मान गरिएको थियो। उत्कृष्ट शैक्षिक उपलब्धिका लागि उनलाई ११ हजार रुपैयाँको चेकसहित प्रमाणपत्र, माला, खादा, टीका तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कलेज प्रमुख रायका अनुसार यस वर्ष बीबीएस परीक्षाको नतिजामा हरि खेतान बहुमुखी कलेजले नेपालभरका ५५६ कलेजमध्ये उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। अञ्जलीको राष्ट्रियस्तरको उपलब्धिले कलेजको शैक्षिक सफलतालाई थप उजागर गरेको कलेजको भनाइ छ ।
त्यस्तै, इन्जिनियरिङ अध्ययनका लागि आयोजित IOE प्रवेश परीक्षामा पहिलो प्रयासमै २१७औँ रैंक हासिल गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेका अमित कुमार बर्णवाललाई पनि सम्मान गरिएको थियो। उनलाई ५ हजार १ सय रुपैयाँको चेकसहित प्रमाणपत्र, खादा र टीका प्रदान गरियो ।
अतिरिक्त क्रियाकलापतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई कार्यक्रममा सम्मान गरिएको थियो । लायन्स क्लबद्वारा आयोजित म्याराथनमा चौथो स्थान हासिल गरेकी सुशिला कुमारी तात्वा तथा तेस्रो स्थान प्राप्त गरेकी आशा कुमारी साहलाई प्रमाणपत्र, खादा र टीकासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कलेजका पदाधिकारीहरूले विद्यार्थीको सफलता उनीहरूको व्यक्तिगत उपलब्धि मात्र नभई संस्था र समग्र वीरगञ्जको शैक्षिक प्रतिष्ठासँग जोडिएको बताएका थिए । विद्यार्थीको प्रतिभा पहिचान गरी आगामी दिनमा पनि उनीहरूलाई आवश्यक प्रोत्साहन र सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनीहरूले व्यक्त गरे ।
सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले विद्यार्थीको मेहनत र उपलब्धिले कलेजको शैक्षिक यात्रालाई थप बलियो बनाएको उल्लेख गर्दै उत्कृष्ट विद्यार्थीलाई निरन्तर हौसला प्रदान गरिने बताउनुभयो ।
सम्मानित विद्यार्थीहरूले पुरस्कार र सम्मानले आफूहरूलाई आगामी दिनमा अझ मेहनत गर्न थप प्रेरणा मिलेको बताएका छन् । कार्यक्रमले हरि खेतान बहुमुखी कलेजमा ‘मेहनतको सम्मान र प्रतिभाको प्रोत्साहन’ भन्ने संस्कारलाई थप बलियो बनाएको आयोजकको भनाइ छ ।