भदौ ०६, वीरगञ्ज, पर्सा ।

पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर बेपत्ता भएका एक वृद्धको शव सशस्त्र प्रहरी बलको टोलीले फेला पारेको छ ।

शनिबार साँझ भैंसी चराउन गएका जिल्ला पर्सा, बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिर ढोङ्गही खोलामा डुबेर बेपत्ता भएको स्थानीयबाट सूचना प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षा बेस पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा डि.एम. टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो ।

खोजी तथा उद्धारका क्रममा सशस्त्र प्रहरी बलको टोलीले साँझ करिब ७:०० बजे खोलामा डुबेको अवस्थामा ब्रह्मदेव राउत अहिरको शव फेला पारेको हो । घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा सूचना अधिकारी डिएसपी मोहनराज निरौलाले जानकारी दिएका छन् ।