वीरगंज, कात्तिक ८, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया, वडा नं. २ द्वारा हिन्दू धर्मावलम्बीहरुको महान पर्व छठको अवसरमा छपकैया पोखरी छठघाट सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

सो अवसरमा हालै बिर्ता वडा प्रहरी कार्यालयमा कार्यभार सम्हाल्न आएका प्रहरी निरीक्षक विक्रम सुवेदीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी गर्यासुदिन ठकुराई रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रेयाज मिया उपस्थित रहनु भएको थियो ।

कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, समाजसेवी, सुरक्षाकर्मी तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले छठ पर्वले सामुदायिक एकता, सहकार्य र धार्मिक सौहार्द सुदृढ पार्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै प्रहरी र समुदायबीचको सहकार्य अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रहरी निरीक्षक विक्रम सुवेदीले स्थानीय समुदायसँग सहकार्यमा रहँदै शान्ति, सुरक्षाको वातावरण सुदृढ बनाउन प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै वडा अध्यक्ष रेयाज मियाले छठ पर्व जस्तो साझा सांस्कृतिक पर्वमा सबै धर्म, समुदायबीचको एकता र सद्भाव कायम राख्न समुदाय प्रहरी साझेदारीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।