वीरगञ्ज भाद्र 13,— बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि वीरगञ्जको सामुदायिक शिक्षण संस्था हरिखेतान बहुमुखी कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख प्रदान गरेको छ ।

​कलेज परिसरमा आयोजित एक कार्यक्रमका बीच क्याम्पस व्यवस्थापन समितिले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदान गरिएको यो सहयोग सामुदायिक कलेजहरूको तर्फबाट अहिलेसम्मकै ठूलो भएको व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानले जानकारी दिए ।

​कार्यक्रममा कलेज प्रमुख किशोरी रायले संकटको घडीमा शैक्षिक संस्थाहरू केवल पठनपाठनमा मात्र सीमित नभई सामाजिक कर्तव्यप्रति पनि उत्तिकै सजग हुनुपर्ने धारणा राखे । उनले पीडित नागरिकको घाउमा मलम लगाउन कलेज परिवारले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।

​कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, कोषाध्यक्ष सुरेश प्रसाद रुङटा, शिक्षक–शिक्षिका तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले विपद् व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि राज्यसँगै निजी तथा सामुदायिक क्षेत्रको हातेमालो आवश्यक रहेको औंल्याएका थिए ।