वीरगञ्ज भदौ- १४ । बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रतिष्ठित व्यावसायिक घराना 'रुङ्गटा ग्रुप'ले २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

​रुङ्गटा ग्रुपका सञ्चालक एवं वरिष्ठ उद्योगपति सुरेश रुङ्गटाले उक्त सहायता रकम बराबरको चेक माननीय अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।

​विपद्को यस कठिन घडीमा मानवीय दायित्व तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) वहन गर्दै प्रभावित नागरिकको घाउमा मलम लगाउने उद्देश्यले सो सहयोग उपलब्ध गराइएको ग्रुपले जनाएको छ । देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला निजी क्षेत्रबाट प्राप्त यति ठूलो आर्थिक सहयोगले सरकारी संयन्त्रलाई राहत, उद्धार तथा पुनर्निर्माणका काम अगाडि बढाउन उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

​सहयोग हस्तान्तरणका क्रममा उद्योगपति रुङ्गटाले संकटको समयमा नागरिकको जीवनरक्षा र पुनर्स्थापनाका लागि साथ दिनु निजी क्षेत्रको साझा कर्तव्य भएको बताउनुभयो ।

​विपद् व्यवस्थापनमा सक्रिय अग्रसरता देखाउँदै रुङ्गटा ग्रुपले प्रस्तुत गरेको यस मानवीय कार्यलाई निजी क्षेत्रको उदाहरणीय र प्रेरणादायी कदमका रूपमा लिँदै विभिन्न क्षेत्रबाट उच्च प्रशंसा गरिएको छ । बाढीपीडितको सहयोगार्थ महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा सरोकारवालाहरूले उद्योगपति सुरेश रुङ्गटा तथा सम्पूर्ण रुङ्गटा परिवारप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका छन् ।