वीरगञ्ज, भाद्र ०३,
वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा कक्षा १२ का बिहानी सत्रका विद्यार्थीहरूले घरायसी तथा पुनःप्रयोग गर्न मिल्ने सामग्रीबाट विभिन्न कलात्मक वस्तु निर्माण गर्दै आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका छन् ।
सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयअन्तर्गत आयोजित प्रतियोगितामा विद्यार्थीहरूले दैनिक जीवनमा प्रयोग हुने तथा सहजै उपलब्ध हुने सामग्रीलाई नयाँ स्वरूप दिँदै मन्दिर, विद्यालय, कलेज, मूर्तिलगायतका नमुना तयार गरेका थिए । प्रयोगमा आइसकेका सामग्रीलाई पुनःसदुपयोग गर्दै विद्यार्थीले देखाएको कलात्मक क्षमताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानसहित शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
प्रतियोगितामा पूजा मण्डलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभयो । सोनी शर्मा लोहार द्वितीय र रेनु चौहान तृतीय हुनुभयो। विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि डा. खेतानले मेडल प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै डा. खेतानले विद्यार्थीको क्षमता केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। घरमै उपलब्ध सामान्य सामग्रीबाट समेत उपयोगी तथा आकर्षक वस्तु तयार गर्न सक्नु विद्यार्थीको कल्पनाशक्ति, श्रम र सीपको उदाहरण भएको उहाँको भनाइ थियो ।
उहाँले यस्ता गतिविधिले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गर्नुका साथै आत्मविश्वास, सिर्जनशील सोच र व्यावहारिक सीप विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
प्रतियोगिताका क्रममा शिक्षक तथा अतिथिहरूले विद्यार्थीले निर्माण गरेका सामग्रीको अवलोकन गरेका थिए । सहभागी विद्यार्थीहरूको मेहनत, नयाँ सोच र स्थानीय स्रोत–साधनको उपयोग गर्ने शैलीको समेत प्रशंसा गरिएको थियो ।
कलेज प्रशासनका अनुसार विद्यार्थीको प्रतिभा र व्यावहारिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि अध्ययनसँगै सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिइनेछ ।