वीरगञ्ज, मंसिर १० गते सोमबार,

पर्सा प्रहरीले आइतबार अपहरण र फिरौती माग्ने आरोपमा हरिशंकर शर्मा र संतोष दासलाई पक्राउ गरेको छ । हरिशंकर शर्मा आफुलाई अवैधानिक र विवादित संगठन समाजवादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपाध्यक्ष बताउँदै आएका थिए।

प्रहरीका अनुसार, बारा जिल्लाको बारागढी गाउँपालिका–१ निवासी मोहन ठाकुर बढैका छोरा हरिशंकर शर्मा र वीरगंज महानगरपालिका–१६ निवासी संतोष दासले अपहरण र फिरौतीको योजनामा संलग्न रहेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। अनुसन्धानमा उनीहरूले रौतहट जिल्लाको एक युवकलाई मोटरसाइकलसहित अपहरण गरेर दुई लाख रुपैयाँ फिरौती माग गरेको खुलेको छ।

पीडितसँग पहिलो किस्ता स्वरूप ५० हजार रुपैयाँ बुझ्दै गर्दा शर्मालाई पक्राउ गरिएको र त्यसपछि संतोष दासलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पत्रकारिताको खोल ओढी विगत लामो समय देखि बजारमा ठग्दै आएका कथित पत्रकार शर्मा यथार्थमा पत्रकार नभई उनी वीरगंज बाट प्रकाशित हूने कालिका टाइम्स र सर्व राष्ट्रिय दैनिकमा पत्रिका सेटिङ गर्ने अर्थात कम्प्युटर अपरेटरको काम गर्दै आएका हुन् ।

समाजलाई अपराधमुक्त बनाउने जिम्मेवारी रहेको पत्रकारिताको क्षेत्रमा पर्साका केही पत्रकारहरूको आचरणले प्रहरीलाई आश्चर्यचकित बनाएको छ। अपहरण र फिरौतीको गम्भीर आरोपमा पक्राउ परेका हरिशंकर शर्मा र संतोष दासलाई छुटाउन पर्साका केही पत्रकारले प्रहरी कार्यालयमा बारम्बार ओहोरदोहोर गरेका छन्।

प्रहरीका अनुसार, ती पत्रकारहरूले अपहरण पीडितको वेदना र न्यायको पक्षमा उभिनुको साटो, आरोपीलाई छुटाउन दबाब सिर्जना गर्न खोजे। यो गतिविधिले पर्सा प्रहरीलाई गम्भीर प्रश्न उठाउन बाध्य बनाएको छ।

प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको जनाएको छ।