काठमाडौं, फागुन १४निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन कडा निगरानी तथा आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगद्वारा जारी विज्ञप्तिअनुसार फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

आयोगले गृह मन्त्रालयमार्फत देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन जारी गर्न र जिल्ला आचारसंहिता अनुगमन समितिलाई सक्रिय रूपमा परिचालन गर्न अनुरोध गरेको जनाएको छ । साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ अनुसार निषेधित गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गरी त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिइएको छ ।


मादक पदार्थ बिक्री–वितरणमा प्रतिबन्ध

निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न आयोगले मतदान मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेको छ । यस कदमले शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न सहयोग पुग्ने आयोगको विश्वास छ । 


मतदानको दिन सवारी सञ्चालनमा रोक

आयोगले मतदानको दिन अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध रहनेछ ।

तर, निम्न सवारीसाधनलाई सञ्चालन अनुमति दिइने छ :

  • एम्बुलेन्स, दमकल तथा शववाहन

  • रक्तसञ्चार सेवाका सवारीसाधन

  • सुरक्षा निकायका सवारीसाधन

  • विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन

  • कूटनीतिक नियोगका सवारीसाधन

  • आयोग वा प्रशासनबाट पास प्राप्त गरेका सवारीसाधन


हवाई उडान यथावत्

आयोगले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। टिकट भएका यात्रुहरूले निजी वा सम्बन्धित एयरलाइन्सद्वारा व्यवस्था गरिएका सवारीमार्फत विमानस्थल आवतजावत गर्न सक्नेछन्।


मतदानका लागि परिचयपत्र अनिवार्य

मतदाताले मतदान केन्द्रमा जाँदा निम्नमध्ये कुनै एक आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ :

  • मतदाता परिचयपत्र

  • नेपाली नागरिकताको प्रमाणपत्र

  • राष्ट्रिय परिचयपत्र

  • राहदानी

  • सवारी चालक अनुमति पत्र

  • जग्गाधनी प्रमाणपूर्जा

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले उल्लेखित कागजातमध्ये कुनै एक प्रस्तुत गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।


आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सम्बन्धित निकायलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।